“म बस्ने एपार्टमेन्ट बिल्डिंगमा १२२ वटा यूनिट छन, ती मध्ये म सगैँ बस्ने दिवंगत मेरो साथी र म बाहेक अरुलाई कोरोना पोजिटिभ भएको छैन। पोजिटिभ भएपछि म घरभित्रै थिएँ, त्यसैले अरुलाई सर्ने प्रश्नै उठ्दैन ।”
विश्वब्यापी कहर कोरोनाको आक्रमणमा परेपछि आफ्ना दुखाई, भोगाई र सिकाई निरन्तर बाँडिरहेको छु । मेरो भोगाई अरुका लागि सुरक्षा र आत्मबल निर्माणमा सहयोगी पुग्ने विश्वाश लिएको छु । तपाईँले पनि उपयोगी लागे शेयर गरिदिनु होला ।
एक जना कोरोना भाइरस संक्रमितले औसतमा तीन जनालाई संक्रमण सार्न सक्छ भने त्यो तीनबाट ज्यामितीय दरमा यो संक्रमण सर्छ । तर सामाजिक संजालमा हल्ला चले जत्तिकै भयानक पनि यो छैन । सावधानीपूर्वक रहने हो भने तपाईंको जिल्ला, गाउँ, छिमेक त के कुरा एउटै घरमा कोरोना संक्रमित भए पनि अर्कोलाई सर्दैन । तपाईंको खानपान र सचेतना राम्रो भयो र विशेष ख्याल गर्ने हो भने यसले आक्रमण गरिहाले पनि तपाईंलाई केही गर्दैन । त्यसैले यसबाट आतंकित हुनु पर्दैन ।
एउटै एपार्टमेन्टमा बस्ने मेरो साथी पवनलाई कोरोना पोजिटिभ देखिएपछि पनि धेरै दिनसम्म म सुरक्षित भएको थिएँ । विशेष गरी बाथरुम र किचेन एउटै भएकोले म उच्च जोखिममा थिएँ । तर म उनलाई मैले गर्न सक्ने मानवीय सेवाबाट भाग्न चाहिन ।
त्यसबेला न्युयोर्कमा मास्क, सेनिटाईजर र पन्जा पनि थिएन । सयौँ पटक हात धोएर मात्र म बचेको थिएँ । पवनको लागि खाना बनाउने, तातो पानी तताई दिने, उनले खाएका जुठो भाँडाहरु माझ्ने तथा उनको कोठा सफा गर्ने सबै काम मैले नै गरेको थिएँ । सम्भवतः उनलाई संक्रमण भएको केही दिनमा मलाई पनि संक्रमण भएको हुनुपर्छ ।
म बस्ने एपार्टमेन्ट बिल्डिंगमा १२२ वटा यूनिट छन्, ती मध्ये म सगैँ बस्ने दिवंगत मेरो साथी र म बाहेक अरुलाई कोरोना पोजिटिभ भएको छैन। पोजिटिभ भएपछि म घरभित्रै थिएँ, त्यसैले अरुलाई सर्ने प्रश्नै उठ्दैन ।
यो डायरी लेख्ने बेलासम्म नेपालमा एक जना पनि नमर्नुले यसलाई भयावह रुपमा लिनुपर्दैन । विशेष गरी बाहिरबाट आएका ब्यक्तिहरुले यो संक्रमण भित्र्याएको देखिएकोले कसैको घरमा जाने या कसैलाई आउन दिने काम गर्नु हुदैन ।
तपाईँलाई कोरोना संक्रमण भएको छ तर तलका सावधानीहरु अपनाउने हो भने कोरोना अरुलाई सर्दैन
१. सबैले मास्कको सही तरीकाले प्रयोग गर्ने ।
२. घरका सदस्यहरुले बाथरुम ट्वाईलेट प्रयोग गर्नु अघि र पछि प्रत्येक पटक मास्क र पन्जा लगाएर सफा गर्ने र सबैले बाथरुम प्रयोग गरेपछि संक्रमितले अन्त्यमा प्रयोग गर्ने ।
३. सकेसम्म छुट्टै ट्वाईलेट प्रयोग गर्ने तर सम्भव नभएमा प्रयोग गरेपछि त्यसलाई राम्रोसंग सबैतिर सेनिटाईज गर्ने र कम्तीमा ३० मिनेट अरुले प्रयोग नगर्ने ।
४. संक्रमितले प्रयोग गरेका लुगा, भाँडाकुँडा, टुथपेष्ट, साबुन, काईयो, टावेल तथा म्याटहरु नछुने ।
५. संक्रमित ब्यक्तिले कुनै पनि बस्तु नछुने, सबै सदस्यले जुनसुकै बस्तु छोएपछि तुरुन्तै साबुन पानीले हात धुने । बेला बेलामा हातमा स्यानिटाजर लगाउने ।
६. संक्रमित ब्यक्तिको नजिक नजाने, संक्रमितले प्रयोग गरेका भाँडा उसैलाई सफा गर्न लगाउने, नसक्ने भएमा पेपर प्लेट वा प्लास्टिक कप प्रयोग गर्ने ।
७. संक्रमित ब्यक्तिले तातो पानीको वाफ लिदा छुट्टै कोठाको प्रयोग गर्ने, समूहमा वाफ लिदा वाफकै कारणबाट पनि सर्न सक्ने अध्ययनले बताएको छ ।
८. फ्रीजबाट निकाल्नासाथ चिसो पानी,चिसो जुस आदि नपिउने । सुन्तला, स्याउलगायतका फलफूल खानुपर्दा पनि घाममा राखेर अलि तातो भएपछि खाने ।
९. समय समयमा ज्वरो नाप्ने, ज्वरो आएमा प्यारासिटामोल खाने ।
१०. सुख्खा खोकी लागेमा बिभिन्न कफ सिरपहरु लिन सकिन्छ ।
११. चालीस वर्ष नाघेकामा सुगर, प्रेशर तथा मुटुको रोग आदिको समस्या हुन सक्छ, त्यसैले खाना तथा ब्यायाममा ध्यान दिने ।
१२. भिटामिन सी ट्याबलेट, भिटामिन डी, भिटामिन बी १२, फिस ओयल तथा जिक ट्याबलेट नियमित खाईरहने ।
१३. संक्रमितलाई किचेन प्रयोग गर्न नदिने,उसलाई चाहिने खाना तथा पानी अरुले उपलब्ध गराउने ।
१४. श्वाशप्रश्वाश अभ्यास जस्तै अनुलोम विलोम नियमित गर्ने,अन्य योग अभ्यासहरु सकेसम्म गरिरहने ।
१५. ज्वरो आएको छ भने खाना मिठो हुदैन । तर के कुरा याद राखौँ भने तपाईँले खाना नखाएसम्म तपाई रोगबिरुद्ध लड्न सकिदैन । त्यसैले जसरी हुन्छ खाना खाने ।
१६. संक्रमित ब्यक्ति सकेसम्म घरका अरु सदस्य ओहोर दोहोर गर्ने ठाउँ भन्दा टाढा बस्ने ।
१७. संक्रमण भएको पक्का भएपनि तपाईमा लक्षण देखिएन भन्दैमा हेलचेक्र्याई नगर्ने।मलाई सामान्य खोकी लाग्दा पनि छातीमा निमोनिया संक्रमण देखिएको थियो ।
१८. सम्भव भएसम्म केही बेर घाममा बस्ने ।
१९. चिया कफीको सट्टा तेल कम हालेर बनाएको ज्वानो, अदुवा, बेसार र सिधे नुन या वीरे नुनको चिया पिउने ।
२०. संक्रमितको खकारलाई तथा बचेको खानालाई संक्रमित आफैले सावधानीपूर्वक बिस्थापन गर्ने ।
२१. आत्मबल सबैभन्दा ठूलो उपचार हो, यो रोग लाग्दैमा केही हुँदैन भन्ने कुराको उदाहरण म आफै हो । मेरो साथीको मृत्यु भएकै कोठामा म ढुक्कका साथ बसिरहेको छु । साथीको मृत्यु भईसकेपछि उनले गरेका हेलचेक्र्याई मैले भूलेर पनि दोहोर्याएको छैन ।
२२. समय कटाउन राम्रा किताबहरु पढ्ने,साथी भाइसँग फोनमा कुरा गर्ने, आफ्नो अनुभव लेख्ने, चलचित्रहरु हेर्ने आदि गर्ने । सामाजिक संजालमा देखिने आतंक फैलाउने सामग्री नहेर्ने,नपढ्ने ।
२३. शास फेर्न गाह्रो हुने,आँखा दुख्ने, सुन्ने शक्ति अत्यन्त कम हुने,लगातार लहरे खोकी लागिरहने,गिजाबाट रगत आईरहने, अत्याधिक ज्वरो आउने, कहिले जाडो कहिले गर्मी हुने र खलखली पसिना आउने बाहेक तपाईँलाई सामान्य लक्षणमा अस्पत्ताल जानुपर्दैन ।
माथिका उपायहरु अपनाएर नै मैले कोरोनाबिरुद्धको लड़ाई जितेको हूँ। यो सन्देश सक्दो शेयर गरेर अरुलाई भरपर्दो उपायबारे जानकारी गराउनु सत्कर्म हो। यो मेरो ब्यक्तिगत अनुभव र बिभिन्न विशेषज्ञ डाक्टरहरुको परामर्श पश्चात तयार पारिएको सामग्री हो ।
जनताटाईम्सबाट…











